नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषा क्षेत्र नं ३ का सबै क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुमा पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
उपसभापति निधिले क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरुमा पीपीई, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन्।
क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निधिले गरेको स्वास्थ्य सामग्री नेपाल तरुण दल धनुषाले मंगलबार वितरण गरेको हो।
तरुण दल धनुषाका सभापति संजय कर्णका अनुसार जनकपुरधामको गोपाल धर्मशाला, नगराईन नगरपालिकाको गंगुली, धनौजी गाउँपालिका, नगराईन नगरपालिकाको वडा नम्बर २, र ७, जटही सीमा प्रहरी चौकी र मुखियापट्टी मुसहरनिया गाउँपालिकाको चारवटा क्वारेन्टाइनमा पीपीईलगायतका स्वास्थ्य सामग्री वितरण गरिएकोे छ।
क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मीसमेत संक्रमित हुनथालेपछि उपसभापति निधिले उपलब्ध गराएका स्वास्थ्य सामग्री वितरण गरिएको तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले बताए।
विभिन्न क्वारेन्टाइनहरुमा ६० थान पीपीई, १० थान थर्मल गन, ६० थान एन–९५ मास्क, ६ सय थान पञ्जा वितरण गरिएको छ। उपसभापति निधिले उपलब्ध गराएका सामाग्री हस्तान्तरण गर्न तरुण दलका सभापति कर्ण, उपसभापति साहसहित सदस्यहरु ज्ञानेन्द्र कर्ण, सुभाष झा, राहुल मिश्रको टोली गएको थियो।