गण्डकी प्रदेशले सरकारले आइतबार ल्याएको आगामी आर्थिक बर्ष २०७७। ०७८को नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल शुरु भएको छ । छलफलमा भाग लिदैं नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङले प्रदेश सरकारको नीति तथा कार्यक्रमले जनताका समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै आपत्ति जनाएकी छन्।
आधा आकाश ओगटेका महिलाको मुद्धा सम्बोधन गर्न नसकेको भन्दै सांसद गुरुङले युवाहरुलाई समेत नीति तथा कार्यक्रमले उपेक्षा गरेको बताइन्। महिलाको आर्थिक अबस्था उकास्न नसकेसम्म प्रदेशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने उनको भनाई थियो। महिलाका लागि रोजगारीको कार्यक्रम ल्याउनेतर्फ सरकारको नीति तथा कार्यक्रम मौन रहेको उनले उल्लेख गरिन्। घरेलु हिंसा र बाल बिबाहको कुरा उठाएर मात्र नहुने भन्दै सांसद गुरुङले सिपमुलक प्रशिक्षणमा जोड दिइन्।
कोरोना भाइरसको संक्रमणका कारण बिदेशबाट ठूलो जनशक्ति नेपाल फर्कन लागेको बास्तबिकतालाई नीति तथा कार्यक्रमले नजरअन्दाज गरेको उनको भनाई थियो। रेमिट्यान्स भित्र्याउने लाखौं युवा स्वदेश फर्कदैछन् उनीहरुलाई कसरी रोजगार दिलाउने भनेर सोच्न नसक्नु सरकारको सबैभन्दा कमजोरी भएको गुरुङले बताइन्। यसरी आएको जनशक्तिलाई कुन क्षेत्रमा कसरी व्यबस्थापन गर्ने भन्ने योजना सरकारसँग नहुनु दुर्भाग्य भएको उनको भनाई थियो।
उनले आधुनिक कृषिमा आकिर्षत गरी खेतीको व्यबसायीक विकासमा जोड दिइन्। यसका लागि किसानलाई सरल व्याजमा ऋण उपलब्ध गराउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराइन्। उनले सुविधासम्पन्न क्वारेन्टाइन र सबै जिल्लामा आइसोलेसन बनाएर जनताको स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने माग गरिन्।
पश्चिमाञ्चलकै सबैभन्दा ठूलो गण्डकी अस्पताललाई कोरोना बिशेष बनाउने भन्ने सरकारको भनाइप्रति असहमति जनाउँदै उनले अन्य सरकारी अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन मााग गरिन्। त्यसो नगर्ने हो भने गण्डकी प्रदेशबाट बिभिन्न रोगको उपचार पाइरहेका जनताहरु उपचार नपाई मर्नु पर्ने अबस्था आउनसक्ने भएकोले यसप्रति सरकार गम्भीर बन्नुपर्ने गुरुङले बताइन्।