नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रुकुमको चौरजहारीमा प्रेम बिबाह गर्न गएका नवराज बिकसहित तीन जनाको हत्यारामा संलग्नहरुलाई संरक्षण गर्ने प्रयास भइरहेको बताएका छन्।
गणतन्त्र दिवसको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा आइतबार आयोजित लोकतन्त्रको सुदृढीकरण बिषयक सुदुरपश्चिम प्रदेश स्तरीय जुम कन्फरेन्सको शुभारम्भ गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले सो घटनामा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका त्यस क्षेत्रका ठूला नेताहरुको नाम जोडिएका समाचार साबजनिक भइरहेको भन्दै घटनाको निष्पक्ष अनुसन्धान गरी मानवता बिरोधी अपराधमा संलग्नहरुमाथि कार्बाहीको माग गरेका छन्।
छुवाछुत र असामाजिक परम्परा बिरुद्ध लडेको भनेर दाबी गर्ने क्रान्तिकारी भन्ने नेताहरु नै अपराधीको संरक्षणमा लाग्नुले छुवाछुत अन्त्यका लागि व्यबहारिक रुपमा उनीहरु कति प्रतिबद्ध छन् भन्ने प्रष्ट हुने उनको भनाई थियो।
जातीय भेदभाब र असमानता बिरुद्ध नेपाली कांग्रेस बीपी कोइरालाको पालादेखि नै लड्दै आएको स्मरण गर्दै उपसभापति निधिले यस्ता घटनाले सभ्य समाजको शीर निहुराएको बताए। दलितका हकअधिकारको रक्षाका लागि नेपाली कांग्रेस प्रजातान्त्रिकले गरेको आरक्षणको व्यबस्थापछि अहिले हरेक क्षेत्रमा दलितको उल्लेख्य प्रतिनिधित्व भएको उनले उल्लेख गरे। निधिले जातका आधारमा हुने कुनै पनि किसिमका बिभेद बिरुद्ध कांग्रेसले आवाज उठाउदै आएको बताउँदै छुवाछुत बिरुद्ध सामाजिक अभियान चलाउनु पर्नेमा जोड दिए।
जुम कन्फरेन्समा कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, रमेश लेखक, बीरबहादुर बलायर, बद्री पाण्डे, प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहाल, प्रतिष्ठानका सदस्य डा. आरजु राणा देउवा, प्रदेश सांसदहरु, जिल्ला सभापतिहरु लगायतले सत्तासीन कम्युनिष्ट पार्टीका कारण लोकतन्त्र र संघीयता नै खतरामा परेको भन्दै त्यसको जगेर्ना गर्नका लागि कांग्रेस नै अग्रसर हुनुपर्नेमा जोड दिएका थिए।
आइतबार नै प्रदेश नं २ स्तरीय जुम कम्फरेन्स सम्पन्न भयो। जुम कन्फरेन्सलाई सम्बोधन गर्दै उपसभापति निधिले मधेश लगायतका बिभिन्न क्षेत्रका माग सम्बोधन गर्नका लागि पूर्बबर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताब कम्युुनिष्टका कारण पारिन हुन नसकेको स्मरण गराउँदै सोही प्रस्ताब कांग्रेसले दर्ता गर्ने तयारीमा रहेको बताए।
त्यस अबसरमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले सरकारले हालै ल्याएको बजेट राजा महेन्द्रको चिन्तन र अबधारणाबाट प्रेरित भएको बताए। कुनै समूह, बर्ग र जातिले अपेक्षा गरेजस्तो नआएको भन्दै गिरिले बजेटलाई नयाँ बोतलमा पुरानो रक्सी भनी तुलना गरे।
विकासको अबधारणाप्रति मजाक गरिएको भन्दै उनले मधेशले उठाएका सबालप्रति कम्युनिष्ट सरकार कत्ति संबेदनशील नभएको उल्लेख गरे। उनले दातृ निकायसँग ऋण लिएर महल बनाउने अनि जनताको थाप्लोमा बोकाउने प्रबृद्धि सिंगो मुलुकका लागि घातक भएको टिप्पणी गरे।
कार्यक्रममा केन्द्रीय सदस्य आनन्द ढुंगाना, फरमुल्ला मन्सुर, पदम नारायण चौधरी लगायतले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसले गर्नुपर्ने कामका बारेमा चर्चा गरेका थिए।