सत्तारुढ नेकपा सचिवाल बैठकले एमसिसी परियोजना संसदमा विचाराधीन रहेकोले त्यसको अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सचिवालय बैठकपछि प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने निर्णय भएको जानकारी दिए। प्रवक्ता श्रेष्ठले भने, ‘संसदबाट एमसिसी अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका काम रोक्ने निर्णय भएको छ।’
आजको बैठमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी थिए। बैठकमा अर्थमन्त्री खतिवडाले बजेटमा एमसिसी किन समावेश गरिएको भन्नेबारे प्रष्ट पारेका थिए।
बैठकमा एमसिसी संसदबाट अनुमोदन नभएमा सरकारले वैकल्पिक व्यवस्था गरी अघि बढ्नेबारे अर्थमन्त्रीले प्रष्ट पारेका थिए।
नेकपाले गत माघमा सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा बनाएको एमसिसी कार्यदलको प्रतिवेदन अध्ययन गर्ने पनि बैठकले निर्णय गरेको छ। कार्यदलले यथास्थितिमा एमसिसी लागू गर्न नहुने सुझाव दिएको थियो।