अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान सम्झौता संसद्बाट पारित नहुँदै सरकारले बजेटमा समाबेश गरेपछि सत्तारुढ नेकपाभित्रको विवाद पुनः बल्झिएको छ।
सत्तारुढ दलभित्रबाटै पछिल्लो समय सरकारलाई अप्ठेरो पार्ने गरी आएका एकपछि अर्को प्रकरणलाई मत्थर बनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजना सम्बन्धी बिबाद बारे छलफल गर्न सचिवालयको आकस्मिक बैठक बोलाएका छन्।
वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पार्टीको निर्णयविनै एमसिसी परियोजना बजेटमा ल्याइएको भन्दै तत्काल बैठक बोलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका थिए। दबाबपछि शुक्रबार साँझ बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बैठक बोलाउने सहमति भएको हो। बैठक अहिले बालुवाटारमा बसिरहेकाे छ।
यसअघि गत १९ माघमा सम्पन्न केन्द्रीय कमिटीद्वारा गठित एमसिसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका झलनाथ खनालले पार्टी निर्णयविना नै ल्याइएको विषय नहटाइए बजेट नै फेल हुने चेतावनी दिएका छन्।
एमसिसी परियोजनाअन्तर्गत निर्माण गर्ने भनिएको लप्सिफेदी–रातामाटे–दमौली–बुटवल प्रसारण लाइन अघि बढाउने सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेको थियो।
यसप्रति आपत्ति जननाउँदै एमसिसी कार्यदलका संयोजक खनाल र नेता रावलले ४ जेठमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए। उनीहरूले केन्द्रीय कमिटीको निर्णय र अध्ययन कार्यदलको सुझाबविपरित नीति तथा कार्यक्रममा परियोजनाअन्तर्गतको प्रसारण लाइन समावेश गरेको भन्दै पार्टीमा छलफल माग गरेका थिए।