मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सरकारले बिहिबार ल्याएको नयाँ बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको छ।
बजेटको भोलिपल्ट शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रचारमुखि बजेटले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो।
‘प्रचारमुखी बजेटले जनताका समस्यालाई केन्द्रमा राख्न सकेको छैन’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संचारकर्मीहरुसँग भने, ’हामी खर्चको कटौतीको प्रस्ताव गर्छौँ।’ यस्तो बजेटले मुलुक, जनता र उत्पादन तथा उद्योगधन्दा सबै डुबाउँने खाँडको भनाई थियो। पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता डा. रामशरण महतले प्रचारमुखी बजेटले कार्यान्वय क्षमता नराख्ने बताए।
छाँया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पूरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए।
कांग्रेस संसदीय दलको बैठकमा पार्टीबाट अर्थमन्त्री बनेका नेता तथा योजना आयोगका पूर्ब उपाध्यक्षहरु पनि सहभागी थिए।