जनता समाजवादीले लगेको संविधान संशोधनको प्रस्ताव संसद् सचिवालयले दर्ता गर्न मानेन। जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर गैरसरकारी बिधेयकका रुपमाा आफ्ना मागहरु समेटी संविधान संशोधनको प्रस्ताव लिएर बिहिबार सचिवालय पुगेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादीसमेत सम्मिलित सरकारले ११ वैशाख ०७४ मा दर्ता गराएको संशोधन प्रस्ताव लिएर दर्ताका लागि संसद सचिवालय पुगेका ठाकुरलाई संसद् सचिवालयले सभामुखसँग छलफल गरेर आइतबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय गरिने जानकारी गराएको सहभागी एक नेताले बताए।
०७४ सालमा सरकारले प्रदेश सीमांकनको निम्ति आयोग बनाउनेलगायतका विषय समेटिएको संविधान संशोधनको विधेयक दर्ता गराएको थियो। संविधान संशोधन प्रस्तावमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकनलगायतका विषय समावेश गरिएको छ।
ठाकुर लगायत राजपाका नेताहरु राजेन्द्र महतो, महिन्द्रराय यादव, अनिल झा, लक्ष्मणलाल कर्ण संसद सचिवलाय पुगेका थिए। यसैबीच, संसद सचिवालयले दर्ता गर्न नमानेपछि नेता ठाकुरले जनताले अधिकार नपाएका बेला राष्ट्रिय एकताको कल्पना नगर्न सुझाएका छन्।