नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल भारत बीचको सीमा बिबाद हल गर्नका लागि उच्चस्तरीय राजनीतिक र कुटनीतिक बार्ता आवश्यक भएको भन्दै पछिल्लो समय बार्ताको वातावरण धमिल्याउने प्रयास भइरहेको बताएका छन्।
गणतन्त्र दिवसको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा शुक्रबार आयोजित लोकतन्त्रको सुदृढीकरण बिषयक गण्डकी प्रदेश स्तरीय जुम कन्फरेन्सको शुभारम्भ गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले वार्ताको वातावरण धमिलो बनाएर समस्याको समाधान नहुने उल्लेख गरे। उनले जिम्मेवार पदमा बसेका व्यक्तिले गैरजिम्मेवार ढंगबाट दिएका अभिव्यक्तिले वार्ताको वातारण धमिलो बनाउने भएकोले त्यस्ता अभिव्यक्ति नदोहोर्याउँन चेतावनी दिए। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएकोले नेपालीले नै निर्बाध रुपमा उपभोग गर्नु पाउनु पर्ने निधिको स्पष्ट भनाई थियो।
कम्युष्टि पार्टीका एकपछि अर्को गतिबिधि लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनमै केन्द्रित भएको भन्दै लोकतन्त्र र संघीयतामा बिश्वास नगर्ने शक्ति सत्तामा गएका कारण यस्तो परिस्थिति सिर्जना भएको उनले बताए। त्यसका बिरुद्ध लोकतन्त्रबादी शक्तिहरु ऐक्यवद्ध हुनुपर्ने आबश्यकतामा उनले जोड दिए। प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा संघीय शासन प्रणालीलाई कसरी असफल बनाउन सकिन्छ भनेर लागि परेको आरोप लगाउँदै उपसभापति निधिले प्रदेश र स्थानीय तहले अधिकार पाउन नसक्नुको मुख्य कारण यहि भएको दाबी गरे।
त्यस अबसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग रहेको भनेर कांग्रेसले शुरुदेखि नै दाबी गर्दै आएको स्मरण गराउँदै अहिले आएर कम्युनिष्टहरुले कांग्रेसका बिरुद्ध दुष्प्रचार गरेको बताए। जनस्तरमा गएर कांग्रेसजनले कम्युनिष्टहरुले फैलाएका यी र यस्ता दुष्प्रचार चिर्नु आजको आबश्यकता भएको दाहालले उल्लेख गरे।
गण्डकी प्रदेशस्तरीय कार्यक्रममा प्रदेशमा रहेका कांग्रेस केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश सदस्य लगायत ७० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ,कमला पन्त, अर्जुन जोशी, धनराज गुरुंग, गोबिन्द भट्टराई, जीवन परियार लगायतले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसले नै अग्रसरता लिनुपर्नेमा जोड दिएका थिए। राष्टिय योजना आयाोगका पूर्ब उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले सरकारले बिहिबार प्रस्तुत गरेको बजेट र समग्र आर्थिक अबस्थाका बारेमा जानकारी गराएका थिए।
यसैबीच, प्रतिष्ठानले शुक्रबार दिउँसो प्रदेश नम्बर १ स्तरीय जुम कन्फरेन्स गरेको छ। कन्फरेन्सलाई प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले सम्बोधन गरेका थिए। कार्यक्रममा प्रदेश नम्बर १ का १६० जनाको सहभागिता रहेको थियो। त्यस अबसरमा राष्टिय योजना आयोगका पूर्ब उपाध्यक्ष डा. गोविनद पोखरेलले नयाँ बजेट र समग्र आर्थिक स्थितिका बारेमा जानकारी गराएका थिए।
गणतन्त्र दिवसका अबसरमा प्रतिष्ठानले हरेक बर्ष बिशेष कार्यक्रम गर्दै आएको छ। कोरोना भाइरसको लकडाउनका कारण प्रतिष्ठानले यो बर्ष लोकतन्त्रको सुदृढीकरणका बिषयमा प्रदेश स्तरीय जुम कन्फरेन्स गरेको हो। अन्य प्रदेशमा पनि यसैगरी जुमका माध्यमबाट अन्तरक्रिया गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक दाहालले जनाएका छन्।