प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावबारे पार्टी केन्द्रीय कार्यसमिति बैठकबाटै आधिकारिक निर्णय गर्ने बताएको छ।
पार्टी मुख्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले कांग्रेस केन्द्रीय समितिबाट संस्थागत निर्णय गरेपछि संशोधनको प्रस्तावमा मत राखिने बताए।
संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।
‘सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको छ। त्यो जुनबेला पारित हुन्छ त्यसबेला कांग्रेसले केन्द्रीय कार्यसमितिमा छलफल गरी निर्णय गरिसकेर संसदमा राष्ट्रिय स्वाभिमानको पक्षमा, नक्साका पक्षमा उभिनेछौं। त्यसबेला यो पास भएर जानेछ,’ प्रवक्ता शर्माले भने।
उनले संविधान संशोधनका सम्बन्धमा कांग्रेसको धारणाबारे स्वदेश र विदेशका विभिन्न सञ्चारमाध्यमबाट आएका समाचारका भ्रममा नपर्न पनि आग्रह गरे।