नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्टहरुका कारण नेपालमा गणतन्त्र र संघीयतामाथि खतरा आएको टिप्पणी गरेका छन्।
गणतन्त्र दिवसको सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा बिहिबार आयोजित लोकतन्त्रको सुदृढीकरण बिषयक कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति निधिले कम्युनिष्ट पार्टीको सरकारले लोकतान्त्रिक शासन व्यबस्थालाई कमजोर बनाउनकै लागि केही समयअघि बिबादास्पद अध्यादेश जारी गरेको स्मरण गराए।
कम्युष्टि पार्टीका एकपछि अर्को गतिबिधि लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनमै केन्द्रित भएको भन्दै लोकतन्त्रबादी शक्तिहरु ऐक्यवद्ध भएर लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्नुपर्ने आजको प्रमुख आबश्यकता भएको उनले बताए।
बहुलवादलाई इन्कार गरेर लोकतन्त्रको परिभाषा हुनै नसक्ने ठोकुवा गर्दै कांग्रेस उपसभापति निधिले भने कम्युनिष्टको शब्दकोषमा बहुदवाद भन्ने शब्द नै छैन। कम्युनिष्टहरु अन्तर्राष्टिय अधिनायकवादमा बिश्वास गर्ने भएकोले नेपाललाई पनि उनीहरुले अधिनायकवादी बाटोमा लैजान खोजेको निधिको भनाई थियो। तर नेपाली कांग्रेस जस्तो लोकतन्त्रलाई मूल आदर्श ठान्ने शक्तिको निरन्तरको खबरदारीका कारण अधिनायकबादी बाटो उनीहरुका लागि सहज नभएको उनले स्पष्ट पारे।
कम्युनिष्ट शासन व्यबस्था असफलसिद्ध भएर बिश्वभर लोकतन्त्रको संस्थागत विकास भइरहेका बेला नेपालमा भने गणतन्त्र र संघीयता कमजोर बनाएर एकदलीय शासन व्यबस्था अघि बढाउनका लागि कम्युनिष्टहरुले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई बोलाएर प्रशिक्षण लिएको घटना ताजै भएको उपसभापति निधिले स्मरण गराए।
नेपाल संघीय शासन प्रणालीमा अघि बढेको भए पनि कम्युनिष्ट पार्टीको सरकारले त्यस अनुसार प्रदेश र स्थानीय तहमा अधिकार दिन कन्जुस्याई गरेको उपसभापति निधिले आरोप लगाए। समृद्धिको नारा लगाउनले सरकार तल्लो तहका अधिकार सिंहदरबारमा र सिंहदरबारका अधिकार प्रधानमन्त्री मातहत केन्द्रित गर्नमा उद्यत रहेको उनले बताए। यसरी अधिकार केन्द्रिकृत गरेर संघीयताप्रति बितृष्णा जगाउने काममा स्वयं प्रधानमन्त्री लागि गरेको निधिले आरोप लगाए।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निधिले प्रष्ट पारे। कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार र नेपाली कांग्रेसको नेतृत्वले ती भूभाग नेपालकै हुन् भनेर दृढ अडान राख्दै आएको स्मरण गराउँदै उपसभापति निधिले सीमा बिबादमा सम्बन्धमा हिजोका दिनमा कम्युनिष्टहरु मौन रहेको समेत बताए। अनाबश्यक विवाद सिर्जना गर्न खोजिएको नेपाली भूभाग नेपालकै हो भनेर कांग्रेसले लिएको अडानलाई पछिल्लो समय कम्युनिष्टहरुले राष्टियतासँग जोड्न खोजेको निधिले बताए।
राष्ट्रियता जनता केन्द्रित हुने कांग्रेसको धारणा भएको भन्दै निधिले भने तर कम्युनिष्ट मान्यतामा कम्युनिष्ट पार्टीका सदस्य र समर्थक मात्र जनता हुने प्रचलन छ। राष्ट्रियताको केन्द्रीय पात्र भनेका जनता भएको निधिको भनाई थियो।
त्यस अबसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.पुरुषोत्तम दाहालले सत्तासीन नेपाल कम्युनिष्ट पार्टीका अलोकतान्त्रिक गतिबिधिका कारण लोकतन्त्रमाथि प्रश्न खडा भएकोले प्रतिष्ठानले लोकतन्त्रको सुदृढीकरणमा यस बर्षको कार्यक्रम केन्द्रित गरेको बताए।
गणतन्त्र दिवसका अबसरमा प्रतिष्ठानले हरेक बर्ष बिशेष कार्यक्रम गर्दै आएको थियो। कोरोना भाइरसको लकडाउनका कारण प्रतिष्ठानले यो बर्ष लोकतन्त्रको सुदृढीकरणका बिषयमा प्रदेश स्तरीय जुम कन्फरेन्स गर्ने निर्णय गरेको छ। कार्यकारी निर्देशक दाहालका अनुसार प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा जेठ १६ गते, बागमती प्रदेश र प्रदेश नम्बर ५ मा जेठ १७ गते, सुदुरपश्चिम प्रदेशमा जेठ १८ गते तय भइसकेको छ भने प्रदेश नम्बर २ र कर्णाली प्रदेशको टुंगो लाग्न बाँकी छ।