नेपाली कांग्रेस गण्डकी प्रदेश सांसद मनकुमारी गुरुङले फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीको सुरक्षामा गम्भीर बन्नका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रदेश सभाको बुधबारको बैठकमा बोल्दै प्रदेश सांसद गुरुङले कोरोना भाइरस नियन्त्रणमा प्रदेश सरकार गम्भीर नभएको भन्दै फ्रन्टलाईनमा बसेर खटिएकाहरुको स्वास्थ्य बिमा गरिनु पर्नेमा जोड दिइन्। साथै उनीहरुलाई प्राथमिकतामा राखेर पीसीआर टेष्ट गर्नुपर्नेमा समेत उनले सरकारको ध्यानाकर्षण गराइन्।
स्थानीय तहमा भारतबाट आएकाहरुको चाप बढेकोले संक्रमणको खतरा देखिएको भन्दै पर्याप्त आरडीटी किट्सको व्यबस्था गरी परीक्षणलाई व्यापक बनाउनु पर्ने उल्लेख गरिन्।
सांसद गुरुङले प्रदेश तहमा सुविधासम्पन्न क्वारेन्टाइन निर्माणमा सरकारको ध्यानाकर्षण गराइन्। सरकारले क्वारेन्टिनमा बसेकाहरुलाई दैनिक रु.५१० दिने निर्णय गरेर पनि कार्यान्वयन नगरेको भन्दै यस्ता झुठा कुरा नगर्न प्रदेश सरकारलाई चेतावनी दिइन्। उनले घोषणा गरेका बिषयलाई कागजमा मात्र सीमित नराखी कार्यान्वयनमा जोड दिइन्।
प्रदेशका हरेक अस्पतालमा ल्याब टेष्ट तथा उपकरण र जनशक्ति थप्नुपर्ने उनको भनाई थियो। सांसद गुरुङले संभाबित खाद्य संकटलाई ध्यानमा राखेर प्रत्येक स्थानीय तहमा खाद्यान्न स्टोर निर्माण गर्नुपर्नेमा जोड दिइन्। प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिने नारा कागजमा मात्र सीमित भएको भन्दै व्यबहारिक रुपमा अघि बढाउनु पर्ने बताइन्। गाउँ गाउँमा कृषि बिशेषज्ञ पठाएर कृषि प्राथमिकतामा राखी आधुनिक खेतीमा प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाई थियो।
हिजोका दिनमा बजार व्यबस्था नभएकोले कृषिमा लगानी पनि कम भएको भन्दै अब लगानीसँगै सरकारले बजारको पनि व्यबस्था गर्नुपर्ने बताइन्। मुलुकको राष्टिय अर्थतन्त्र धान्दै आएको रेमिट्यान्स भित्र्याउने ठूलो जनशक्ति कोरोनाका कारण रोजगारी गुमाएर नेपालमा आउन लागेको भन्दै तिनका लागि रोजगारीको अबसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा उनले ध्यानाकर्षण गराइन्।
सांसद गुरुङले गोरखा जिल्ला अस्पतालमा थप आइसोलेसन बार्ड निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराइन्।