नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले नेपाल भारतबीच देखिएको समस्या समाधानका लागि चरणवद्ध वार्ता आवश्यक रहेको बताएकी छन्।
भारतको इण्डिया टुडे टिभीसँगको कुराकानीमा नेतृ कोइरालाले भारतसँगको कुटनीतिक वार्तामा बंगलादेशको फुलबारी बन्दरगाहसम्म पुग्ने बाटो नेपाललाई दिन भारत सहमत भएमा नेपालले लिपुलेकमा भारतले बनाएको बाटो लिजमा दिन सक्ने तर्क गरेकी छन्।
तर त्यसअघि कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने स्पष्ट पारिन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेकी कोइरालाले भारतले कालापानीबाट सेना फिर्ता गरेर वार्तामा बसेपछि मात्र सहमतिको बिन्दु पहिल्याउन सकिने बताइन्।
भारतले नेपाली भूमि समेटेर आफ्नो नक्सा जारी गरेपछि समस्या थप जटिल भएको उनको भनाई थियो। कोइरालाले आफुले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समेत पहिलो चरणमा भारतले सेना फिर्ता गरेपछि दोस्रो चरणमा अन्य विषयमा कुरा हुने स्पष्ट पारिन्।
नेतृ कोइरालाले भारत र चीनले लिपुलेकमा व्यापारिक नाका खोल्ने बारेमा भएको सहमति लगतै नेपालका प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले दुवै देशलाई प्रोटेष्ट नोट पठाए पनि भारतले रेस्पोन्स नगरेको बताइन्। उनले सो विषयमा चीनले तत्काल रेस्पोन्स गरेको तर भारतले नेपालको विरोधलाई वेवास्ता गरेको उल्लेख गरिन्।