नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले राजनीतिक र कुटनीतिक बार्ताद्धारा नेपाल भारत र चीनबीच त्रिदेशीय बिन्दु तय गर्नुपर्ने बताएका छन्।
पौडेलले त्रिदेशिय बिन्दु तय गर्न औपचारिक बैठक बसी छलफल शुरुका लागि ढिलाई गर्न नहुनेमा जोड दिएका छन्। यसका लागि नेपाली भूमिमा बाटो लगायतका निर्माण कार्य तत्काल बन्द गर्नका लागि आग्रह गर्दै सरकारका तर्फबाट भारतलााई औपचारिक पत्र पठाउनु पर्ने नेता पौडेलले उल्लेख गरे।
नेपालले नयाँ नक्सा जारी गरिसकेपछि उत्तर र दक्षिणी छिमेकी भारत र चीनलाई त्यसको औपचारिक जानकारी गराउनु पर्ने उनको भनाई छ। तर यस दिशामा सरकार कत्ति गम्भीर नभएको भन्दै नेता पौडेलले राष्टियताका नाममा प्रधानमन्त्री ओलीले फेरी नेपाली जनतालाई भुलभुलैयामा पार्न खोजेको त होइन भनी प्रश्न गरे। नक्सा जारी गरेपछि सरकारको गतिबिधि हेर्दा आगामी चुनाबका लागि भोट बटुल्नका लागि उसले राष्टियताको मुद्धा अघि सारेको अनुमान लगाउन सकिने बताए।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अक्षम भएपछि सरकारले एकपछि अर्को मुद्धा ल्याएको स्मरण गराउँदै नेता पौडेलले नयाँ नक्सा जारी गर्नुलाई पनि त्यसकै एउटा कडीका रुपमा लिएका छन्।