नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसारभर नेपालको पर्यायका रुपमा रहेको बिश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा आफ्नो भूभागमा पर्ने चिनियाँ भनाईप्रति आश्चर्य व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका नेतासमेत रहेका प्रथम जननिर्बाचित प्रधानमन्त्री वीपी कोइरालासँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्से तु ले सगरमाथा नेपाली भूभागमै हो भनी स्वीकारेको इतिहासलाई बिर्सेर अहिले आफ्नो भूभागमा पर्छ भनेर दाबी गर्नुको पछाडि कुनै तथ्य र प्रमाण नभएको उपसभापति निधिले स्मरण गराए।
स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको जुम कन्फरेन्सलाई सम्बोधन गर्दै उनले चिनियाँ पक्षबाट यस्तो दाबी भइरहदा पनि नेपाल सरकारका तर्फबाट कुनै प्रतिक्रिया नआउनु अनौठो भएको उल्लेख गरे। नेता निधिले सगरमाथा आफ्नो भूभागमा पर्ने भन्ने चिनियाँ भनाईप्रति सरकारको आधिकारिक धारणा आउनु पर्नेमा जोड दिए। उनको प्रश्न थियो, यस बिषयमा सरकार किन मौन छ?
चीनको सरकारी स्वामित्वको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)को आधिकारिक ट्विटर ह्याण्डलले सगरमाथा चीनमा पर्ने उल्लेख गर्दै सगरमाथा र त्यस क्षेत्रका तस्वीरहरू सार्वजनिक गरेको थियो। उसले बिश्वको अग्लो शिखर सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने उल्लेख गरेको थियो।