नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको पर्याप्त प्रमाण रहेको भन्दै बिनाशर्त ती भूभाग नेपालले पाउनै पर्नेमा जोड दिएका छन्।
स्कुल अफ डेमोक्रेसीद्धारा आयोजित प्रदेश नं १ स्तरीय जुम कन्फरेन्सलाई सम्बोधन गर्दै उपसभापति निधिले ती भूभाग नेपालकै हुन् भनेर स्पष्ट धारणा राख्ने नेपाली कांग्रेस नै पहिलो शक्ति भएको बताए। नेपाली कांग्रेसका पूर्ब सभापति कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार र कांग्रेस नेतृत्वले समेत ती भूभाग नेपालकै रहेको दृढ अडान राखेको पनि उनले स्मरण गराए।
अनाबश्यक रुपमा विवाद सिर्जना गर्न खोजिएको नेपाली भूभाग नेपालकै हो भनेर कांग्रेसले लिएको अडानलाई पछिल्लो समय कम्युनिष्टहरुले राष्ट्रियतासँग जोड्न खोजेको उपसभापति निधिले बताए।
भौगोलिक अखण्डता र राष्ट्रियता एउटै अर्थ लागे पनि दुईवटा अलग अलग बिषय भएको भन्दै उनले भौगोलिक अखण्डताका पक्षमा सरकार र प्रतिपक्ष एकै ठाउँमा भए पनि राष्ट्रियताका सबालमा कम्युनिष्ट दर्शन फरक रहेको उल्लेख गरे।
राष्ट्रियता जनता केन्द्रित हुने कांग्रेसको धारणा भएको भन्दै निधिले भने तर कम्युनिष्ट मान्यतामा कम्युनिष्ट पार्टीका सदस्य र समर्थक मात्र जनता हुने प्रचलन छ। राष्ट्रियताको केन्द्रीय पात्र भनेका जनता भएको निधिको भनाई थियो। प्रधानमन्त्री ओलीको राष्ट्रियता अधिनायकबादी अन्तर्राष्ट्रियता भएको निधिले बताए। कम्युनिष्टहरुले संसारभरका मजदुरहरु एक हौं भनेको यहि अन्तर्राष्ट्रिय अधिनायकवादी सिद्धान्तबाट प्रेरित भएर हो।
कम्युनिष्टले भन्दै आएको राष्ट्रियतामा प्रजातन्त्र नै हुदैन, उनले भने। लोकतन्त्र बिनाको राष्ट्रियता नहुने भन्दै कांग्रेस उपसभापति निधिले कम्युनिष्टको राष्ट्रियतामा बहुलबाद भन्ने शब्द नै नभएको बताए। उनले लोकतन्त्रलाई माइनस गरेर राष्ट्रियताको परिभाषा र जगेर्ना हुनै नसक्ने धारणा व्यक्त गरे।
चीन र भारतबीच व्यापार सम्झौतापछि मानसरोवरको धार्मिक पर्यटनसमेतलाई लक्षित गरी लिम्पियाधुराको बाटो बनाइएको कुरा सबैका सामु स्पष्ट रहेको भन्दै उपसभापति निधिले अतिक्रमित नेपाली भूमि फिर्ता गराउनका लागि भारत र चीन दुबै मुलुकसँग उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिए।