नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइस नियन्त्रण गर्ने सबालमा बर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भिडियो कन्फरेन्स बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख समेत रहेका निधिले कोरोना भाइरसको संक्रमण शुरु भएको यति लामो समय बितिसक्दा पनि त्यसको नियन्त्रणका लागि सरकारसँग कुनै योजना नहुनु दुखद् भएको बताए।
लकडाउन र सामाजिक दुरीबाहेक सरकारले कोरोना नियन्त्रणका सबालमा सिन्को भाँच्न नसकेको उनको भनाई थियो। बिश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको भरपर्दो परीक्षण बिधि नहुनु तथा पर्याप्त आइसोलेशन वार्ड र क्वारेन्टाइन नहुनुले सरकार यसप्रति कत्तिको गम्भीर छ भन्ने प्रष्ट भएको उपसभापति निधिले उल्लेख गरे।
भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउने सबालमा उच्चस्तरीय कुटनीतिक पहल गर्न ओली सरकार पूर्णत असफल भएको प्रतिष्ठानका प्रमुख निधिले बताए। ख्यात्मक हिसाबले जतिसुकै बलियो भए पनि राजनीतिक र नैतिक हिसाबमा सरकारले शासन गर्ने आधार गुमाइसकेको उनको भनाई थियो।
प्रतिष्ठानका सदस्यसमेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणाले मन्त्रिपरिषद् बैठकबाट नक्सा फेरेरमात्र नेपाली भूभाग फिर्ता नआउने भएकोले सार्थक कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले अहिले देखिएको कोरोना भाइरसका बिषयमा कांग्रेसले यस क्षेत्रका बिज्ञहरुसँग बसेर छलफल गरी जिम्मेवार प्रतिपक्षका नाताले आगामी रणनीति तय गर्नुपर्नेमा जोड दिइन्।
प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले समसामयिक राजनीतिका साथै प्रतिष्ठानले संचालन गर्ने प्रदेश र तल्लो तहको तालिमका बिषयमा बुधबार भिडियो कन्फरेन्स बैठकमा थप छलफल गरी आगामी कार्यक्रम तय गरिने बताए।