सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।
२४ गते उहाँको (नर्मल डेरीभरी) सुत्केरी भएको विवरण हामीलाई सो अस्पतालबाट प्राप्त भएको छ । र, उहाँ २५ गते डिस्चार्ज हुनुभएको थियो । त्यसपछि उहाँ सिन्धुपाल्चोक आफ्नो घर जानुभएको थियो ।
घर गइसकेपछि ज्वरो, स्वास प्रश्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि उहाँले स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ । र, उहाँको स्थिति जटिल बन्दै जाँदा उहाँ धुलीखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको खबर हामीले पाएका छौं ।
यस सम्बन्धमा हामीले थप विस्तृत विवरणहरु लिइरहेका छौं । र, कोभिड १९ सँग सम्बन्धित थप परीक्षणहरु भइरहेका छन् । यो परीक्षणहरुको र सम्पूर्ण विवरणहरु प्राप्त भइसकेपछि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा कोभिड १९ सँगको सम्बन्धित मृत्यु हो वा होइन भन्ने कुरा निर्क्याेल गरेर प्रसारण गर्ने व्यहोरा सबैलाई म जानकारी गराउँछु ।