सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ।
शनिबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो।
कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो। पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गतेसम्मका लागि तोकिएको छ।
आजको बैठकमा चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने कुनै निर्णय भएको छैन। पछिल्लो समय संक्रमितको संख्या बढेपछि लकडाउन पुनः थप गर्नुपर्ने चिकित्सकहरुले दिएको सुझाबका आधारमा सरकार पनि थप गर्ने तयारीमा छ।
सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिएका छन्।