कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का संघीय सांसद अभिषेक प्रताप शाहले आफ्नो क्षेत्रमा राहतस्वरुप ७० क्विन्टल चामल उपलब्ध गराउने भएका छन्।
कोरोना भाईरसको महामारीबाट बच्न सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्दै आएका अतिविपन्न परिवारलाई राहतस्वरुप चामल दिन लागिएको सांसद शाहले बताए।
कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र महाराजगञ्ज नगरपालिकाका साविकका उदयपुर, भलवारी र कुशहवामा चामल वितरण गरिने उनको निजी सचिवालयले जनाएको छ।
लकडाउनको पूर्ण पालना गरेर घरमै बसेका दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न परिवारलाई तत्काल ३ वटै तहका सरकारले राहतको प्याकेज दिन सांसद शाहले सरकारसँग माग समेत गरेका छन्।
यसैबीच, भारतका विभिन्न शहरबाट गाउँ घर फर्केका आम सर्वसाधारण अनिवार्य रुपमा २ हप्ता क्वारेन्टाईनमा बस्न पनि सांसद शाहले भारतबाट घर फर्केका सवैलाई आग्रह गरेका छन्।