राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा भएका अनियमितताबारे छानविन गर्न माग गरेको छ।
राजपा नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले शुक्रवार एक विज्ञप्ति जारी गरी सामाग्री खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गएकाले तत्काल सत्यतथ्य छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका हुन्।
महामारीको बेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु सरकारको गैरजिम्मेवारी कार्य रहेको भन्दै उनले कोरोना भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा सरकार अझ गम्भीर र जिम्मेवार बन्नुपर्ने सरकारलाई ध्यानाकर्षण गराएका छन्।
कोरोना भाइरसको माहामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ–आफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग उनले अपिल पनि गरेका छन्।
राजपा नेपालले नेपाल–भारतको सिमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फर्काएर स्वास्थ्य जाँच गराई शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सरकारलाई आग्रह गरेको छ। संयोजक भण्डारीले अत्यावश्यक उपभोग्य वस्तु र राहत सामग्रीहरु वडा तहबाटै आम नागरिकसम्म पुर्याउने सरकारले गरेको निर्णय कार्यान्वयनमा नआएको उल्लेख गर्दै केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहलाई अझ जिम्मेवार हुन र तत्परता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्।