नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस स्थानीय तह समन्वय बिभागका प्रमुख अर्जुन जोशीले कोरोनाको महामारीबाट आक्रान्त भएका बेला स्थानीय सरकारले आफ्नो टोल छिमेकमा बिदेशबाट आएकाहरुले लगत राख्नुपर्ने आबश्यकतामा जोड दिएका छन्।
आम नागरिकलाई सुरक्षित राख्न बिदेशबाट आएका नागरिकहरुको पहिचान गरी लगत राख्न र शंका लागेमा क्वारेन्टाइनको व्यबस्था गर्नका लागि स्थानीय निकाय अग्रसर हुनुपर्ने केन्द्रीय सदस्य जोशीले बताएका छन्। सोमबार प्रेस बिज्ञप्ति जारी गर्दै स्थानीय तह समन्वय बिभाग प्रमुख जोशीले गाउँ गाउँमा आवश्यक जनचेतनामुलक कार्यक्रमहरु, क्वारेन्टाईन, सुरक्षित एकान्तबासको निर्माण गर्नुपर्ने बताएका छन्।
उनले यो अबस्थामा बिपन्न घर परिवार पहिचाहन, स्थानीय सर्भेक्षण, रोजगार सूचना संकलन र वितरण जस्ता महत्वपूर्ण कार्यहरु स्थानीय सरकार, वडातहको संयन्त्र नै तैयार गरि सोहि निकायहरु मार्फत प्रभावकारी वितरण गर्न सकिने बताएका छन्। साथै तिनै निकायमार्फत सामाजिक सुरक्षा योजना कार्यान्वयन र व्यस्थापन गर्न सकिने पनि जोशीले बिज्ञप्तिमा उल्लेख गरेका छन्।
आबश्यक परे केहि समयका लागि स्थानीय सरकार र पालिकाहरुले घर जग्गा, घर बहाल कर छुट दिने ब्यबस्था मिलाउन सक्ने कुरा समेत सोच्न सकिने उनले बताएका छन्।
दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध गर्न तीनै तहका सरकारको साझा जिम्मेवारीको बिषय रहेको भन्दै उनले सबै सरकारहरुबाट कोरोना बढ्न नदिन तथा भोकमरीबाट बचाउन बेलैमा बलियो आधार तयार गरी, बेरोजगार घर, परिवारका लागि राहतका प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
साथै उनले स्वास्थ्यकर्मीहरुको समेत अधिकतम परिचालन गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन्।