कोरोना भाइरसको प्रकोपपछि सरकारले एक साताका लागि लकडाउन गरेको छ। यसबाट दैनिक ज्यालादारीमा निर्भर मजदूरहरु सबैभन्दा बढी प्रभाबित भएका छन्। दैनिक ज्यालादारी गरेका हातमुख जोर्दै आएका मजदूर र न्यून आय भएकाहरुलाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न मुख्य बिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग अनुरोध गरेको भए पनि सरकारले आजसम्म त्यस्तो प्याकेज ल्याएको छैन।
दैनिक ज्यालादारीमा निर्भर मजदूरका लागि सरकारले प्याकेज नल्याएपछि पूर्बमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गृहजिल्ला सिन्धुपाल्चोकको निर्बाचन क्षेत्र नम्बर १ मा राहत प्याकेजको तयारी गरिरहेका छन्।
लकडाउनका बीच बुधबार निर्बाचन क्षेत्रमा पुगेर उनले बाह्रबिसेस्थित अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। अहिले उनले राहत प्याकेजका लागि लगत संकलनमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्बाचन क्षेत्रमा खटाएका छन्। बिहीबार स्पेसखरबसँग कुरा गर्दै नेता बस्नेतले शुक्रबारसम्म लगत बिबरण संकलन गरिसकेपछि लगत्तै राहतको कार्यक्रम लिएर जनताको घरदैलो पुग्ने बताएका छन्।
उनले राहतस्वरुप तत्कालका लागि ज्यालादारीमा निर्भर मजदुरहरुलाई खाद्यान्न बितरण गर्ने तयारी भइरहेको बताएका छन्।
ता बस्नेतले यसअघि २०७२ को भूकम्पपछि पनि पीडितहरुलाई व्यक्तिगत पहलमा राहत सामग्री उपलब्ध गराएका थिए।