सरकारले भारत र चीनसँग जोडिएका सबै सीमानाका एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको हो।
भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको भए पनि भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन। भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ।
केन्द्रीय राहत कोष खडा
सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ।
मन्त्रिपरिषदको बैठकले कोषमा शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ। कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णय गर्दै सरकारले अन्य सबैलाई कोषमा सहयोग गर्न आह्वान गरेको छ।
मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णयसमेत गरेको छ।