संघीय संसद अन्तर्गतको राज्यको नीति निर्देशक सिद्धान्तहरुको अनुगमन मुल्यांकन निर्देशक समितिले कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भारतसँगको सिमा नाका तत्काल बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अन्तर्राष्ट्रिय क्षेत्रबाट आएको सहयोगको प्रस्ताव तत्काल स्वीकार गरी त्यसलाई परिचालन गर्न पनि निर्देशन दिएको छ। बैठकले भाइरसको परीक्षण तथा नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।
दैनिक उपभोग्य बस्तु सहज बनाउन निर्देशन दिँदै समितिले विदेशी नागरिकको आगमनमा तत्काल प्रतिबन्ध लगाउन निर्देशन पनि बैठकले दिएको समिति सभापति निरादेवी जैरुले जानकारी दिइन्। नेपाली नागरिकलाई स्वदेश आगमनमा खुला गरी क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिइएको सभापति जैरु बताइन्।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना संक्रमण नेपाल प्रवेश गरेमा कसरी रोक्ने भन्नेबारे चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए। मन्त्री भट्टले कोरोनाको उपचारमा संलग्न हुने चिकित्सकहरूलाई चिनियाँ चिकित्सकले प्रशिक्षण दिने कार्यक्रम रहेको बताए।
चीनबाट कोरोनाको उपचारमा प्रयोग हुने औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्री भट्टले जानकारी दिए। बैठकमा समिति सदस्यहरुले कोरोना रोकथामबाट भएका तयारी सकारात्मक भएपनि पर्याप्त नभएको भन्दै थप तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।