कोरोना भाइरसको संभावित संक्रमणका कारण सरकारले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेका बेला प्राबिधिक शिक्षा तथा व्यबसायीक तालिम परिषद् (सीटीइभीटी) द्धारा संचालित ग्वार्कोस्थित ललितपुरको नेपाल इस्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजीले भने सरकारलाई चुनौती दिदैं आज शनिबार समेत परीक्षा राखेको छ।
सरकारले एसइई र बिश्वविद्यालयका परीक्षा तथा पठनपाठन समेत तत्काल स्थगित गर्ने निर्णय गरेपछि सो कलेजले सूचना पाटीमा चैत ६ गते सूचना प्रकाशित गरी कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी प्राबिधि शिक्षा तथा व्यबसायीक तालिम परिषद्को निर्णय बमोजिम चैत ७ गतेदेखि चैत ३० गतेसम्म कलेजभित्र संचालन हुने शैक्षिक कार्यक्रमहरु बन्द रहने सूचना टाँसेको छ।
तर कलेज प्रशासनले विद्यार्थीहरुलाई भने आउट डेसमा आएर परीक्षा दिन उर्दी जारी गरेको छ। यस सम्बन्धमा कलेजका प्रिन्सिपल भीमप्रसाद सापकोटासँग जिज्ञासा राख्दा उनले शुक्रबार पनि परीक्षा संचालन गरेको भन्दै शनिबार बिहानको परीक्षा यथावत रहेको बताए।
शुक्रबार राति स्पेसखबरसँग कुरा गर्दै प्रिन्सिपल सापकोटाले सरकारले सबै शैक्षिक संस्था बन्द गराए पनि आफूहरुले केही आइपरे बेहोर्ने भन्दै उनले परीक्षा नरोकिने स्पष्ट पारे। उनले कोरोना भाइरसका बारेमा आफूहरुलाई राम्रोसँग थाहा भएको भन्दै शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरेको दाबी गरे। उनले अभिभाबकसंग सल्लाह गरेर नै परीक्षा संचालन गरिएको बताए।
तर यसबाट अभिभाबक र विद्यार्थीहरु भने निक्कै चिन्तित भएका छन्। नाम नबताउने शर्तमा एकजना अभिभाबकले सरकारको नीतिलाई नै चुनौती दिएर परीक्षा संचालन गर्ने यस्ता संस्थामाथि कार्बाही हुनुपर्ने बताए।