कपिलबस्तु जिल्लामा कोरोनाको आशंकामा २ जनालाई क्वारेन्टाईन पठाउने तयारी भइरहेको छ। मर्यादपुरबाट नेपाल प्रवेश गरेका दुई जनामा जाँच गर्ने क्रममा ज्वरोसहित कोरोनाका लक्षण देखिएपछि उनीहरुलाई क्वारेन्टाईन पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शम्सेर जबराले जानकारी दिए।
प्रहरी उपरीक्षक जवराका अनुसार उनीहरुको जिल्ला अस्पताल तौलिहवामा स्वास्थ्य जाँच गरिएको छ। उनका अनुसार दुई जनामध्ये एक जना बेलायतबाट भारत हुँदै नेपाल फर्किएका हुन् भने अर्का एक जना पञ्जावबाट नेपाल फर्केका हुन्।
क्वारेन्टाईनमा १४ दिन राखेपछि मात्रै उनीहरुलाई आ–आफनो घर जान दिइने व्यवस्था मिलाउन लागिएको प्रहरी उपरीक्षक जबराले बताए।
दुबैमा कोरोनाको लक्षण देखिएकाले जिल्ला अस्पताल तौलिहवाले निर्माण गरेको महेन्द्र आधारभुत प्रा.वि. तौलिहवाको क्वारेन्टाईनमा पठाउने तयारी भैरहेको जनाइएको छ।