विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमणको सम्भावित जोखिम नियन्त्रणका लागि सरकार, राजनीतिक दल, जनता तथा सरोकार भएका एकताबद्ध भएर सामूहिक अभियान चलाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा सांसदहरुले विपद्का घडीमा सरकार र कुनै पार्टी विशेषका नभनी भाइरसको सम्भावित खतराबाट बच्नका लागि विशेष सतर्कता अपनाउन सरकारलाई आग्रह गर्दै सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदले आफूहरुको भूमिकालाई पनि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा कांग्रेसका प्रकाश पन्थले सरकारले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि अपनाएको पूर्वतयारी र स्वास्थ्य सतर्कता सकारात्मक भएको भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकार तथा सबै राजनीतिक दल एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागी गम्भीर हुन पनि सरकारलाई आग्रह गरे। नेकपाकी सांसद कोमल वलीले सरकारले कालोबजारी, कृत्रिम अभावको नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयास बारे सदनलाई जानकारी दिन सरकारसंग माग गरिन्।
सांसद भैरवसुन्दर श्रेष्ठले विदेशबाट फर्काइएका नेपालीलाई स्वदेश प्रवेश गर्दा स्वास्थ्य सुरक्षालगायत विषयमा ध्यान दिन जरुरी रहेको बताए।
बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ। त्यस्तै, बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ‘सातै प्रदेशमा सम्पन्न अन्तक्र्रिया÷स्थलगत अध्ययन कार्यक्रमसम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरेका थिए।
त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिका सम्बन्धमा प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए।