१३ औं महाधिबेशनमा सभापतिका प्रत्यासीसेमत रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको समूहका नेताहरु तितरबितर भएको भनेर अड्कलबाजी भइरहेका बेला सोमबार आफ्नो समूहका सबै नेतालाई एकै ठाउँमा उभ्याएर थप उत्साहका साथ १४ औं महाधिबेशनमा अघि बढ्ने सन्देश दिएका छन्। उनको सन्देश थियो तेस्रो धार कमजोर छैन।
१३ औं महाधिबेशनमा उम्मेद्वारी घोषणा गरिएकै ठाउँ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डबाट उनले यस्तो सन्देश दिएका हुन्। गगन थापा र प्रदीप पौडेललाई दाया, बाया राखेर नेता सिटौलाले आफ्ना गुटका नेता कार्यकर्तालाइ अरुको आश्रयमा नजान आग्रहसमेत गरे। उनले अरुलाई आफ्नो आश्रयमा आउने वातावरण बनाउन पनि थापा र पौडेललाई आग्रह गरे।
आफ्नो गुटमा कांग्रेसको नेतृत्व गर्ने क्षमता भएको उनको भनाई थियो। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उम्मेद्वारी दिने भन्दै उनले १४ औं महाधिबेशनमा बढी अबसर हुने पनि उल्लेख गरे। क्रियाशील सदस्यता बाँड्ने समय भएकाले जिल्लामै बसेर ध्यान दिन उनले आफ्नो समूहका नेताहरुलाई आग्रह गरे।
तोकिएको समयमै महाधिवेशन गर्नुपर्ने भन्दै नेता सिटौलाले कुनै पनि वहानामा महाधिवेशन सार्न नहुने बताए। महाधिबेशन सार्ने निर्णय भएमा आफूहरुलाई मान्य नहुने सिटौलाले स्पष्ट पारे। महाधिवेशनपछि जसको नेतृत्व आएपनि एक भएर अघि बढ्नुपर्ने उनको भनाई थियो।
अनुशासन समितिबाट सिटौला पक्षका नेता उमाकान्त चौधरीले दिएको राजीनामा फिर्ता भएको उनले जानकारी गराए। ‘अनुशासन समितिमा रहेर काम गर्दा उहाँका केही कठिनाइ थिए। तपाईं बस्दा ठीक हुन्छ भनी सल्लाह दिएपछि राजीनामा फिर्ता गर्नुभएको छ’, उनले भने।
युवा नेता गगन थापाले सभापति देउवा र बरिष्ठ नेता पौडेलले बिधि, बिधानको उल्लंघन गर्दा आफ्नो समूहले मध्यमार्गीको भूमिका निर्बाह गरेको स्मरण गराए।उनले परिबर्तनकाके पक्षमा एक भएर अघि बढ्न पनि आग्रह गरे।
युवा नेता प्रदीप पौडेलले तेश्रो धारका नेता एक स्थानमा नभएको भ्रम नपाल्न आग्रह गरे। पार्टीकै भविष्यका लागि बेला बेलामा अन्य समूहसँग सहकार्य हुँदैमा विचार समूहका नेताहरुले आफ्नो स्थान छोडेको भन्न नहुने उनको भनाई थियो। संख्यामा कमजोर भए पनि तेश्रो धार विचारमा प्रधान भएको पौडेलको दाबी थियो।