संघीय संसद सचिवालयको कामु महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी दिइएको छ।
संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले आइतवारदेखि निजामती सेवाबाट अवकाश पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई कामु महासचिवको जिम्मेवारी दिएका हुन्।
सभामुख सापकोटाले दिएको पत्रमा भनिएको छ, ’संघीय संसदको महासचिव पद रिक्त हुन आउने हुँदा अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसदको महासचिवले गर्ने भनी प्रतिनिधि सभा नियमावली, २०७५ तथा राष्ट्रिय सभा २०७५ र (संघीय संसद सचिवालय सम्बन्धी ऐन,२०६४ तथा सो अन्तर्गत बनेका नियमावली बमोजिम तोकिएका कार्यहरु गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २ को खण्ड (ट) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २ को खण्ड (ड) वमोजिम राष्ट्रिय सभाको अध्यक्षको पसमर्शमा तपाईलाई तोकेको छु।’
पत्रमा अगाडि लेखिएको छ, ’तपाईले महासचिवको हैसियतले कामकाज गरेको अवधिमा महासचिवले कानून बमोजिम खाईपाई आएको सविधा पाउने गरी मिति २०७६।१२।०३ देखि आफैलाई तोकिएको जिम्मेवारी सम्हाल्न हुन अनुरोध छ।’