राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले प्रधानमन्त्री ओली स्वस्थ हुँदा पनि मुलुकप्रतिको कर्तव्य निर्वाह गर्न नसकेको भन्दै अव राजीनामा दिन ढिलाई गर्न नहुनेमा जोड दिए।
प्रधानमन्त्री ओलीमात्रै नभएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै मुलुकप्रतिको आफ्नो कर्तव्यमा चुकेको उनले आरोप लगाए।
वर्तमान सरकारले जनतालाई कुनै पनि किसिमको सेवा प्रदान गर्न नसकेको राणाको भनाई थियो। उनले मुलुकको यस्तो अवस्थामा राष्ट्रवादी शक्तिहरु एकजुट भई औंला ठड्याएर बोल्नको लागि राप्रपाबीच एकता भएको बताए।
आफूहरुले सबै पक्षलाई स्वीकार्य हुने गरी साझा संस्थाको रुपमा राजसंस्था हुनुपर्ने कुरा गरेको उनले बताए। संविधान जारी गर्दा राप्रपा पनि चार दलमध्ये एक शक्ति भएकोले आफूहरु संविधानप्रति प्रतिबद्ध रहेको उनको भनाई थियो।