नेपालमा समानताको नारा सहित थालिएको लामो जनयुद्धमा १७ हजार नेपाली जनताहरुले ज्यान गुमाए भने अझै हजारौ घाईते तथा अंगभंग र केही बेपत्ता छन्। कम्युनिष्ट शासनमा समानताका लागि बर्गसंघर्षको नारा बाँढेर जनतालाई पनि सर्बसुबिधा सम्पन्न बनाउने अभियानमा लागेको तत्कालीन माओवादी एमालेसंग पुनर्मिलन भएपछि नेपाल कम्युनिस्ट पार्टी बन्यो। दुई तिहाई जनमतका साथ सत्तामा रहेको नेकपाका एक अध्यक्ष तथा पूर्ब माओवादी सुप्रिम कमान्डर कमरेड प्रचण्डमाथि पुनः उनकै कार्यकर्ताले जुत्ता प्रहार गरेका छन्।
काठमाडौमा आयोजित एक कार्यक्रममा सम्बोधन गरेर स्टेजमा फर्किने क्रममा जुम्ला सिंजाका रतन तिरुवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन्। यसअघि बिसं २०६९ मा पनि आफ्नै कार्यकर्ता पदम कुँवरले एक कार्यक्रममा प्रचण्डलाई झापड हानेका थिए। हुन त कुनै पनि नेपाली नागरिकलाई झापड वा जुत्ता प्रहार गर्नु भौतिक आक्रमण हो, यसलाई नेपालको संविधानले कसुर ठान्दछ र निज आक्रमणकारी दोषी ठहरिन्छ । त्यसमाथि झन देशको प्रधानमन्त्री भैसकेका तथा सत्तासिन पार्टीका अध्यक्ष जस्तो उच्च पदमा रहेका शीर्ष नेतामाथि सार्बजनिक स्थलमा आक्रमण गर्नु राम्रो होइन। दोस्रो पटक यसरी आफ्नै कार्यकर्ताले आक्रमण गरेपछि कमरेड प्रचण्ड तथा नेतृत्व पंक्तिले यसबारे गम्भीर समिक्षा गर्नु जरुरी छ। किन आफनै कार्यकर्ताद्वारा असुरक्षित भएका छन्? आफैले पनि समिक्षा गर्न जरूरी छ।
कमरेड! हुन त म कुनै कम्युनिस्ट, काँग्रेस , राजाबादी वा अन्यबादीको कार्यकर्ता होइन र हुने पनि छैन। म फगत एक नेपाली हुँ र कुवेतको खाडमा पसिनासंग पैसा साट्दै छु। खासमा म र म जस्ता लाखौं खाडीका डोरिलाउरेको लागि देशको विकास भए हुने, अबको नेताले राम्रो देश बनाउन, हामीले स्वदेशमै केही गर्न सकौं, हामीले जस्तै हाम्रा सन्ततीले खाडको तापले पिरोलिन नपरोस् भन्ने हो। बास्तबमै भन्ने हो भने, लामो बर्ग संघर्षको युद्धपछि सामानताको नाराका साथ सत्तामा पुगेर पनि तपाईं लगायत अन्य केही नेताहरुको दैनिकी र जीवनीमा आएको आकाश जमिनको फरकले जतालाई बितृष्णा पैदा भएको छ।
एक राजा फालेर अनेक राजा भएको भान हुने तपाईंहरुको बिलासी जीवन शैली, गाउँको घरदेखि काठमाडौं वा अन्य शहरका अलिसन महलसम्म अनि चप्पल पड्काउनेदेखि राज सबारी जस्तो गाउँ, शहर नै बिदा दिदैँ अनि सर्बसाधारणको यात्रालाई समेत बाधा पुर्याएर गरिने सडक यात्रादेखि हेलिकप्टर चार्टर गरेर गरिने महँगा यात्राहरुले सबै जनभाबना समेटन सकेन कि? त्यति मात्र होइन सिंहदरबारको अधिकार गाउँ गाउँ पुर्याउने बहानामा भएका करमा अत्यधिक वृद्धि तथा सानादेखि ठुलासम्मका कनेक्टिङ घुस र भ्रष्टाचारले जनता आजित छन्। अझ बालुवाटारको ललिता निवासदेखि यति होल्डिङसम्म अनि लाउडादेखि वाईडबडीसम्मका केश अनि निबर्तमान संचार मन्त्रीसम्मका काण्डै काण्डले जनता साच्चै वाक्क भैसकेका छन्।
कमरेड! साँच्चै तापाईले जनयुद्धका समयमा सहयोद्धाहरु र गाउँका सोझा साझा जनतालाई देखाएको सपना भुल्नु भएको छैन होला। १७ हजार जनताको रगतले सिंचित तपाईको त्यो बेलाको जनयुद्ध र त्यसको उपलब्धी अनि अहिलेसम्मको प्रगतिलाई तपाईं लगायत उच्च नेतृत्वले सोच्ने बेला आएको छ। त्यसैले ढिलाई नगरी समिक्षा गर्नुहोस्।
कमरेड! आज तपाईं माथी जुत्ता प्रहार गर्ने उनकै भनाइमा विभिन्न समाचारमा आए अनुसार सहिद पुत्र रतन तिरुवा मात्र होइन अझै धेरै सहिद, घाइते तथा बेपत्ता परिवारहरु अनि अयोग्य लडाकुको बिल्ला भिरेर खाडीमा पसिना बगाउदै गरेका पूर्ब माइबादी लडाकुहरु तत्कालिन जनयुद्धदेखि अहिलेको दुई तिहाई सरकारसम्मको यात्रालाई नियाली रहेका छन् र भनी रहेका छन् कमरेड हाम्रो जनयुद्धका सपना कहिले पूरा होलान्? समानताका साथ समृद्ध नेपालको निर्माण पछि हामी सबै नेपाली खुसि हुने दिन कहिले आउला ??