नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्वसत्तावादी गतिबिधिले मुलुकलाई कम्युनिष्टकरणतर्फ उन्मुख गराएको भन्दै त्यसका विरुद्ध लोकतान्त्रिक शक्तिहरुले सशक्त आन्दोलन गर्नुपर्ने बताएका छन्।
सोमबार पत्रकारहरुसंग कुरा गर्दै बरिष्ठ नेता पौडेलले जनताको साथ लिएर सशक्त आन्दोलनको तयारीमा जुट्नु पर्नेमा जोड दिए। दुई वर्षको कार्यकालमा नेकपा र यसको नेतृत्व संविधानको परिकल्पना विपरित राज्यका हरेका क्षेत्रमा चरम राजनीतिकरण, अनियमितता र भ्रष्टीकरणमा लिप्त भएको आरोप लगाए। उनले भने, ‘कम्युनिष्टलाई दुई तिहाइको बहुमत बाँदरको हातमा नरिबल जस्तै भएको छ।’
उनले कम्युनिष्ट सरकारका यस्ता गतिबिधिबिरुद्ध सरकार बाहिरका सबै लोकतान्त्रिक शक्तिहरुबीच गम्भीर वार्ता गरी शशक्त आन्दोलन गर्नुपर्ने बताए। यसका लागि अन्य दलहरुसंग बार्ता भइरहेको उनको भनाई थियो। पछिल्लो समय नेकपाभित्रको शक्ति सन्तुलनका लागि नेता बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र प्रधानमन्त्री बन्नका लागि संविधान संशोधनको प्रक्रियामा सरकार केन्द्रीत हुनुले जनमतको दुरुपयोग र सर्वसत्तावाद उन्मुख भएको प्रमाणित गरेको उनले बताए। यस्ता कुरा गर्नुक संविधानको मर्म र भाबना बिपरित हुने उनको भनाई थियो।
सरकारले देशको चल अचल सम्पत्ति व्यक्ति विशेषको स्वार्थमा लगाउनेदेखि वाइड बढी जहाज खरिद प्रकरण, न्यारो बडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गा यति समूहलाई दिने तथा विभिन्न ठूला आयोजना विना टेण्डर आफ्नो मन लागेको व्यक्तिलाई दिने र राज्यसत्ता कब्जा गर्ने लक्ष्यले एकपछि अर्को काण्ड मच्चाएको आरोप उनले लगाए।
पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिशन मागेको विषयमा सरकार र पार्टी नेतृत्वको इच्छ नभई एउटा मन्त्रीले मात्रै केही गर्न नसक्ने पौडेलको भनाई थियो।