नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताका लागि भन्दै ५ माघमा अध्यक्षद्धय केपी आली र पुष्पकमल दाहालले एउटा आचार संहिता जारी गरेका थिए। जुन आचारसंहितामा भनिएको छ, ‘जन्मदिवस, पास्नी, व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्नू।’
आफूले आचार संहिता जारी गरेको एक महिनामै अध्यक्ष ओलीले आफ्नै जन्मदिन मनाउन ठाँटबाँठका साथ आकाशमा हेलिकोप्टरको लस्कर लगाएर जन्मथलो तेह्रथुमको आठराई पुगी आचारसंहितालाई रद्धीको टोकरीमा फालिदिएका छन्। तडकभडक नगरी मितव्ययिता अपनाउन यस्तो आचार संहिचा जारी गरिएको थियो। तर त्यो आचार संहिताभन्दा प्रधानमन्त्री ओली भने माथि रहेको सन्देश उनले सन्देश दिएका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो ६९औँ जन्मोत्सव हिजोका दिनमा राजामहाराजाले मनाउने शैलीमा मनाएका छन्। सरकारीनिवास बालुवाटारमा केक काटेपछि आइतबार दिउँसो चार हेलिकोप्टरमा दलबलसहित पुख्र्यौली घर तेह्रथुमको आठराई पुगेका ओलीले त्यहाँ पनि १५ किलोको केट काटे। जुन केकमा देशको नक्सा अंकित छ। झापाबाट झिकाइएको क्याटरिङमा त्याँहा उनले करिब ६ हजारलाई भोज खुवाए । राजा महाराजहरुले आफ्नो जन्म दिनमा सार्बजनिक छुट्टी दिए जसरी नेकपाकै नेतृत्वमा रहेको आठराई गाउँपालिकाले ओलीको जन्मोत्सव मनाउन सार्वजनिक बिदा दियो।
जन्मदिन मनाउन प्रधानमन्त्री ओली परिवारका सदस्य, संघीय सरकारका तीन मन्त्री, दुईजना प्रदेश प्रमुख, प्रदेश १ का मुख्यमन्त्री र मन्त्री तथा केही नेतालाई लिएर आठराई पुगेका थिए। वरिपरिका मात्रै होइन, झापा र मोरङसम्मका केही सरकारी अधिकारी र नेता–कार्यकर्ता सरकारी गाडी चढेर आठराईमा उपस्थित भएका थिए। स साना विद्यार्थीहरु ओलीको तस्वीर हातमा लिएर लाइनमा बसेका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीले गाउँपालिकाका करिब २ हजार विद्यार्थीलाई ‘सम्वृद्ध नेपाल, सुखी नेपाली’ नारा लेखिएको आफ्नै तस्वीर अंकित डायरी र कलम पनि वितरण गरेका थिए ।
प्रधानमन्त्रीलाई बधाई दिन यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा छुट्टै हेलिकोप्टरमा १५ किलोको केक लिएर आठराई पुगेका थिए । उनकै हेलिकोप्टरमा नेपाल ट्रस्टका सदस्य सीताराम सापकोटा पनि कार्यक्रममा पुगे ।
प्रधानमन्त्री ओली सेनाको एमआई–१७ हेलिकप्टरमा पत्नी राधिका शाक्यसहित पाँचथर हुँदै सवा एक बजे आठराइ उत्रिएका थिए । सेनाकै अर्को हेलिकप्टमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ, खानेपानी तथा सरसफाई मन्त्री बिना मगर, वागमती प्रदेश प्रमुख विष्णु प्रसाईं र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए ।
जन्मोत्वको भोजमा सहभागीहरूलाई खिर, तरकारीसहित ‘ननभेज’ खाना खुवाउन झापाबाट क्याटरिङ झिकाइएको थियो । खुवाएको हो । प्रधानमन्त्री ओलीले भोजमा सहभागी भएकामध्ये ७० वर्ष उमेर पुगेका २ सय वृद्धलाई ज्याकेट र भादगाउँले टोपी तथा २ सय वृद्धालाई पछेउरा र साडी वितरण गरेका थिए ।