नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीयता र संविधान मास्न उद्यत बर्तमान सरकारले मुलुकलाई समेत लुट्न थालेको बताएका छन्।
धनुषाको नगराईन नगरपालिका–५ गंगुलीमा निर्मित शिव मन्दिरको शुक्रबार उद्घाटन गर्दै उपसभापति निधिले भने,‘प्रधानमन्त्रीज्यू भन्ने गर्नुहुन्थ्यो, अब लुटिङ फ्यासिलिटी अन्त्य भइसक्यो। तर, उनकै घरमा बस्ने एकजना विश्वासपात्रले हिजै राजीनामा गर्नु भएको छ।’ उनले प्रश्न गरे, सरकार भ्रष्टाचारमा डुबेको यो भन्दा बलियो प्रमाण के चाहियो र?
उपसभापति निधिले प्रधानमन्त्रीको घर र कार्यालय दुवै ठाउँमा लुटिङ भइरहेको टिप्पणी गरे। ‘प्रधानमन्त्रीज्यूको घर र कार्यालयमा लुटिङ भइरहेको छ। मुलुक भ्रष्टाचारको खाडलमा फस्दै छ, लुटिङ गर्नेलाई आज भगवान शिवले सबैको संहार गरुन्, म आग्रह गर्न चाहन्छु।’
निधिले संघीयता र संविधानको रक्षा गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। ‘कम्युनिस्टहरु गणतन्त्र र संघीयतामाथि विश्वास गर्दैनन्उ, अहिलेको सरकार संविधान मास्नतर्फ उद्यत छ, यसलाई जोगाउन हामी सबै एकजुट हुनुको विकल्प छैन,’ निधिले भने।