ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ। आइतबार सीआईबीले गृहमन्त्रालयको जाहेरीअनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएकालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ ।
केहीदिन अघि उक्त प्रकरणका आरोपितविरुद्ध पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसिचवसहित १७२ जनामाथि ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो । ललिता निवासको जग्गा सूवर्णशम्सेर तथा उनका आफन्तबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।
जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो ।
जाहेरीअनुसार आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्छ ।
ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ ।
त्यही प्रकरणमा सीआईबीले गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियार प्रमुखबाट अवकाशप्राप्त पूर्वसचिव दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहित १७२ जनालाई कसुरदार देखाउँदै मुद्दा चलाउन सिफारिस गरेको थियो ।