नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले फौजी आक्रमण अलि बढाइदिनुर्पयो र सदरमुकाम हान्नुर्पयो भनेर गिरिजाप्रसाद कोइरालाले भनेको अभिव्यक्ति दिएका थिए। दाहालको यस्तो अभिव्यक्तिप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। माओवादीको नेतृत्वमा भएको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक र आपत्तिजनक समेत रहेको विज्ञप्तिमा उल्लेख छ।
‘फौजी आक्रमण अलि बढाइदिनुर्पयो र सदरमुकाम हान्नुर्पयो भनेर गिरिजाप्रसाद कोइरालाले दाहाललाई यदि साच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जिवित छँदै नै दाहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो। तर उहाँको निधन भएको यतिका बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ,’ प्रवक्ता शर्माले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
माओवादीको आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सारेको कुरा ऐतिहासिक तथ्य भएको प्रवक्ता शर्माले स्मरण गराएका छन्। हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउने नेताले नै आक्रमणका लागि प्रेरित गरेको भन्नु आफैँमा विरोधाभासपूर्ण रहेको उनको भनाइ छ।
शर्माले विज्ञप्तिमा भनेका छन्, ‘जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दाहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि पनि सजग गराउँदछु।’