नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता तथा मानवअधिकार माथि नै प्रहार गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउन खोजेको बताएका छन्।
कांग्रेस प्रदेश ५ को संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको १३ औं दिनको पुण्य तिथिमा शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रमा सभापति देउवाले जनताको अधिकार खोसेर तथा लोकतान्त्रिक मुल्य र मर्ममाथि नै प्रहार गर्ने गरी विधेयकहरु ल्याएको बताए।
अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी ल्याइएको मिडिया काउन्सिल विधेयक विरुद्ध पत्रकारको आन्दोलनमा नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन जनाउँदै उनले अधिनायकवादको बाटोमा अघि बढेको कम्युनिष्ट सरकार विरुद्ध प्रजातान्त्रिक शक्तिहरु एक भएर अगाडि बढनु पर्नेमा जोड दिए।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रका लागि कांग्रेस सधैं अगाडि रहने बताए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले देश र जनताको हितमा कुनैपनि काम गर्न नसकेको आरोप लगाए।