नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आफूले संसदको गरिमा राख्न सन्तुलित भूमिका निर्वाह गर्ने बताएका छन्।
सभामुख निर्वाचित भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताउनुभयो । लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहने उनको भनाई थियो ।
सभामुखले के गर्ने के नगर्ने भन्नेबारेमा संविधानमा नै व्यवस्था रहेको उल्लेख गर्दै उनले जनताका पक्षमा सबै राजनीतिक दललाई समेटेर अघि बढाउन सभामूखको भूमिकामा आफूले सक्दो प्रयास गर्ने बताए । आफ्नो कार्यकालमा संसदको गरिमा अझै बढाउने र प्रक्रियागत ढंगबाट संसद चल्ने वातावरण बनाउने उनले बताए ।
सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित भएका हुन् ।