प्रतिनिधिसभा सभामुखको निर्वाचन आज हुँदैछ। सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ।
गत सोमबार राजपा नेता महन्थ ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधिसभा बैठकले सभामुखको निर्वाचन माघ १२ गते गर्ने तय गरेको थियो।
सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ। प्रतिनिधिसभा सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु भएसँगेै संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार सोमबार नेकपाको तर्फबाट सापकोटाले मात्र सभामुखका लागि उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन।
बलात्कारको आरोप लागेपछि गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ।
यसैबीच, सापकोटाविरुद्ध परेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो।
सापकोटाको मुद्दा फुयालको इजलाशको पहिलो नम्बरमा रहेको थियो। सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार रिट दायर गरेका थिए।
सापकोटामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको निवेदन सर्वोच्चमा विचाराधीन रहेकाले सभामुख नियुक्त नगर्नु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ। रिटमा सापकोटले द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको हो।