पछिल्लो एक महिनादेखि नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निरन्तरको लामो छलफलपछि अन्ततः समाधान भएको छ।
उपसभापति विमलेन्द्र निधि नेतृत्वको कार्यदलले पटक पटक गरेको अनौपचारिक छलफलपछि सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि ४ बजेसम्म बसेको बैठकले विवादको समाधान निकालेको हो। यसअघि बुधबार बसेको बैठकमा धेरै बिषय सहमति नजिक पुगेपछि आजको बैठकमा सहमतिका आधारमा अघि बढ्ने निर्णय भएको हो।
नेताहरुबीच भएको सहमति अनुसार पार्टीको १४ औं महाधिबेशन यसअघि तोकिएकै मिति २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने निर्णयलाई कायम गरी अघि बढाइनेछ। यसअघि पुस ११ गते बसेको केन्द्रीय समिति बैठकले महाधिबेशनको मिति लगायतका बिषयमा निर्णय गरेको थियो। जुन बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्य तथा पदाधिकारीहरुले बहिष्कार गरेका थिए।
शुक्रबार भएको सहमति अनुसार माघ १३ गते आइतबार केन्द्रीय कार्य समितिको बैठक बस्नेछ। जुन बैठकमा सबैजना पदाधिकारी तथा केन्द्रीय सदस्यले भाग लिनेछन्। शुक्रबारको बैठकमा १४ औं महाधिबेशनको मिति कायम गरी तल्लो तहका अधिबेशनको कार्यतालिका र कार्यबिधि आबश्यकता अनुसार परिमार्जन गर्ने सहमति भएको छ। उपसभापति निधिका अनुसार १३ गतेको बैठकमा महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले कार्यबिधि र कार्यतालिका परिमार्जनसहितको प्रस्ताब पेश गर्नेछन्।
यसैगरी क्रियाशील सदस्यता छानवीनका लागि समिति गठन गर्नेमा नेताहरु सहमत भएका छन्। १३ औं महाधिबेशनमा नेता नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानवीन समितिलाई जे जस्तो म्याण्डेट दिइएको थियो त्यसै अनुसार म्याण्डेट दिइनेछ।
यसैगरी नेविसंघको तदर्थ समिति एक दुईदिनभित्रै गठन गर्ने र तदर्थ समितिमा रहेकाहरुले १२ औं महाधिबेशनमा उम्मेद्वार बन्न नपाउने बिषयमा नेताहरु सहमत भएका छन्। नैनसिंह महर नेतृत्वको नेविसंघ बिघटन भएको मितिसम्म ३२ बर्ष ननाघेकालाई १२ औं महाधिबेशनमा भाग लिन दिने निर्णय पनि गरिएको छ। सभापति देउवाले १३ गतेको बैठकसम्म नेविसंघ तदर्थ समिति गठन गरिसक्ने बताइएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकले परामर्श गरी नेविसंघको तदर्थ समिति गठन गर्ने अधिकार यसअघि नै दिइसकेको छ। नेविसंघको पदाधिकारीसहितको घोषणा गरिनेछ।
शुक्रबारको बैठकमा तरुण दलको म्याद थप गर्ने तथा अघिल्लो बैठकले गरेको पार्टीको बिभागको संख्या बढाउने बिषयमा भने छलफल भए पनि निर्णय भएको छैन। नेताहरुबीच पुनः छलफल गरी ती बिषय पनि सहमतिका आधारमा टुंग्याइनेछ।
शुक्रबारको बैठकमा सभापति देउवा, बरिष्ठ नेता पौडेल, उपसभापति निधि,महामन्त्रीद्धय कोइराला र खड्का, पूर्ब महामन्त्रीद्धय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।
यसअघि बधबार देउवा निवास बुढानिलकण्ठमा शीर्ष नेतृत्वबीच करिब ३ घण्टा छलफल भएको थियो। त्यसअघि पुस २७ गते देउवा निवासमै पौडेलसहित सिटौलाको अनौपचारिक छलफल भएको थियो।
पाटीभित्र उत्पन्न विवाद समाधानका लागि आन्तरिक गृहकार्य अघि बढाएका उपसभापति निधि तथा पूर्ब महामन्त्रीद्धय सिंह र सिटौलाबीच निधिको कार्यकक्षमा दुई पटक अनौपचारिक छलफल भएको थियो।