प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्रको विवाद समाधान भएको छ।सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरूसहितकाे बैठकले पार्टीभित्रको विवाद समाधान गरेकाे हाे ।
आज (शुक्रबार) सभापति देउवा निवास बुढानीलकण्डमा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीको महाधिवेशन यसअघि नै तय भएकाे मिति २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने सहमति भएकाे छ ।यस्तै बैठकमा तल्ला तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने, निलम्बन गरिएको विधानका धारा फुकुवा गर्ने सहमति भएकाे छ ।
गत पुस ११ गते बसेको केन्द्रीय कार्य समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष अनुपस्थित भए पनि पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति ताेक्दै २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेका थिए। एक पक्षीय रूपमा माहाधिवेशनकाे मिति ताेकिएकाे भन्दै पाैडेल पक्ष झन रूष्ट बनेका थियाे ।
त्यस बखत विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने निर्णय समेत भएकाे थियाे ।
पार्टीकाे सबैभन्दा सक्रिय तथा जुझारू विधार्थी संगठन नेविसंघकाे तदर्थ समिति एक/दुइ दिनमा बनाउँन पनि सहमति भएकाे छ।बैठकपछि उपसभापति विमलेन्द्र निधिले नेताहरु आपसी सहमतिमा अघि बढ्न र यसअघि बहुमतका आधारमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय हेरफेर गर्न तयार भएको जानकारी दिए।
नेताहरूबीच भएकाे सहमतिलाइ अनुमाेदन गर्न यहि माघ १३ गते दिउँसाे १ बजे केन्द्रीय समितिकाे बैठकले बस्ने भएकाे छ ।केही समयदेखि उत्कर्षमा पुगेको कांग्रेस भित्रकाे विवाद समाधान भएपछि नेता तथा कार्यकर्ताहरू उत्साहित भएका छन् ।