एमनेष्टी इन्टरनेशनल नेपालले हत्याको आरोप लागेका अग्नि सापकोटाको प्रतिनिधि सभा सभामुखको उम्मेदवारी फिर्ता लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ। एमनेष्टीले सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेको हो।
सापकोटामाथि काभ्रेका अर्जन लामाको हत्या गरेको आरोपमा सर्वोच्चमा मुद्दा विचाराधीन छ। उनको मुद्दाको पेशी यही माघ तेस्रो साता तोकिएको छ।
स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका लामालाई माओवादी द्वन्द्वकालमा सन् २००५ मा सापकोटाकै निर्देशनमा माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेको आरोप छ ।
सापकोटाको उम्मेदवारीपछि लामाकी श्रीमती पूर्णिमायाले आफ्नो श्रीमानको हत्याका लागि जिम्मेवार ठहरिएका मानिस कसरी संसदको सभामुख हुन सक्छन् भनी प्रश्न गरेकी छन्।
सभामुखका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ।