नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको तयारीलगायत बिभाग गठन र भातृसंस्थाका सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा शुक्रबार बिहानदेखि छलफल शुरु भएको छ।
शीर्ष नेताहरुबीचको छलफलले गत पुस ११ गतेको केन्द्रीय समिति बैठकका निर्णयपछि देखिएको विवाद समाधान गर्ने बताइएको छ।
पार्टीमा उत्पन्न विवाद हल गर्न यसअघि उपसभापति विमलेन्द्र निधि, नेताद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले दुई चरणमा पार्टी कार्यालयमा बसेर सहमतिको प्रयाससमेत गरेका थिए।
नेताहरुबीचको अनौपचारिक छलफलपछि गत बुधबार सभापति देउवा निवासमा शीर्ष नेताबीच तीनघण्टा लामो छलफल भएको थियो। दुबै पक्षका नेताहरुले सो छलफल सकारात्मक भएको र शुक्रबारको बैठकले सबैखाले बिबाद अन्त्य गर्ने बताएका थिए।
आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति निधि, महामन्त्रीद्धय पूर्णबहादुर खड्का र डा. शशांक कोइराला, पूर्बमहामन्त्रीद्धय सिंह र सिटौलालगायत उपस्थित छन्।
गत पुस ११ गतेको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेको थियो। जुन बैठक बरिष्ठ नेता पौडेल समूहले बहिष्कार गरेको थियो।
बैठकले पार्टीको केन्द्रीय विभाग २८ बाट बढाएर ४७ बनाउने, नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको पदावधि छ महिना थप गर्ने, काँग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, केन्द्रीय महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने लगायतका निर्णय गरेको थियो।
सो निर्णयपछि पौडेल पक्षले पार्टी कार्यालयमा जिल्ला सभापतिको भेला गरेको थियो। सो भेलाका सहभागी सभापतिहरुलाई सभापति देउवाले बोलाएर कुरा गरेपछि पौडेल पक्ष छलफल गरी सहमतिका आधारमा अघि बढ्न सकारात्मक भएको थियो।
सो बैठकमा आफ्नो माग सुनुवाइ नहुने देखेपछि नेता पौडेल पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्य भने अनुपस्थित थिए ।