विश्वप्रसिद्ध द इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिटले गर्ने एउटा अध्ययनले नेपालमा लोकतन्त्रको अवस्था दक्षिण एसियाकै खराबमध्ये एक रहेको देखाएको छ।
सन् २०१९ को डेमोक्रेटिक इन्डेक्समा नेपालको लोकतन्त्र १६७ देशमध्ये ९२ औँ स्थानमा रहेको उल्लेख छ। दक्षिण एशियाली देशमध्ये पाकिस्तानमात्रै नेपालभन्दा तल रहेको बीबीसीले जनाएको छ ।
प्रतिवेदनमा पूर्ण प्रजातन्त्र, त्रुटिपूर्ण प्रजातन्त्र, हाइब्रिड भनिएको विसङ्गतिपूर्ण शासन पद्धति र निरङ्कुशतन्त्र गरी चारवटा समूहमा वर्गीकरण गरेको थियो। नेपालको अवस्था सन् २०१८ को भन्दा पाँच स्थान सुधार भएको प्रतिवेदनमा उल्लेख छ। तर विसङ्गतिपूर्ण शासन पद्धति भनिएको शासन व्यवस्था भएको देशका रूपमा नेपाललाई अध्ययनले चित्रण गरेको छ।
नेपालसँगै दक्षिण एशियाका श्रीलङ्का, बाङ्ग्लादेश, भुटान र पाकिस्तानमा हाइब्रिड शासन प्रणाली भएको उल्लेख छ। हाइब्रिड शासन पद्धति भएका देशमा निम्नमध्ये केही वा सबै अवस्था हुने बताइएको छः
उल्लेखनीय धाँधली हुने भएकाले चुनाव स्वतन्त्र र निष्पक्ष नहुने,
विपक्षी दल तथा उम्मेदवारहरूमाथि सरकारी दबाब हुने,
राजनीतिक संस्कार, सरकारका काम कारबाही र राजनीतिक सहभागिता कमजोर हुने,
धेरै भ्रष्टाचार हुने,
कानुनको शासन कमजोर हुने,
नागरिक समाज कमजोर रहेको,
पत्रकारहरूमाथि दुर्व्यवहार र दबाब हुने,
न्यायपालिका पनि निष्पक्ष नरहेकाे
अघिल्लो वर्षभन्दा १० स्थान खस्कँदै ५१ औँ स्थानमा रहेको भारतमा पनि त्रुटिपूर्ण लोकतन्त्र रहेको प्रतिवेदनले जनाएको छ। भारतमा सन् २०१९ मा आम चुनाव भएपनि त्यसपछि नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कदम चालिएको उक्त अध्ययनमा उल्लेख छ।
द इकोनोमिष्ट इन्टेलिजेन्स युनिटले चुनाव प्रणाली र बहुलवाद, सरकारको काम कारबाही, राजनीतिक सहभागिता, राजनीतिक संस्कार र नागरिक स्वतन्त्रतालाई मापनको आधार बनाउने गर्छ।
त्यसमध्ये सबैमा नेपालले कुल १० मध्ये लगभग आधा र त्यस आसपास अङ्क प्राप्त गरेको छ। नेपालको सन् २०१९ को औसत अङ्क ५.२८ रहेको छ। सन् २००६ मा नेपालको औसत अङ्क साढे तीनभन्दा कम रहेको थियो।