निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
आयोगको कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
प्रमुख आयुक्त थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण निर्वाचन सामग्री पुगिसकेको बताए। आयोगले बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरेको छ।
मतदान सकिएपछि बिहीबार नै नतिजा प्रकाशन गर्ने गरी व्यवस्था मिलाएको आयोगले जनाएको छ। निर्धारण गरेबमोजिमको परिचयपत्र लिइ मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई अनुरोध गरेको थपलियाले बताए।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यले राष्ट्रियसभा सदस्य चुन्नेछन्। निर्वाचन हरेक प्रदेशमा हुने र सोहीअनुसार प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ।
५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आउँदो फागुन २० गतेबाट सकिँदैछ। तीमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन्। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ।