थरुहट आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजी र कैदी बन्दीहरुलाई आम माफी लगायत १० बुँदे माग अघि सार्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ।
मोर्चाले बुधबार काठमाडौंमा पत्रकार स्म्मेलन गर्दै टीकापुर घटनाका विषयमा छानविन गरेको लाल आयोगको प्रतिवेदन, गृह मन्त्रालयको प्रतिवेदन र सर्वदलीय प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। यसैगरी, टीकापुर घटनापछि थारुहरुमाथि भएको आक्रमण र आगजनीका दोषीहरुलाई कारवाहीको माग गरिएको छ।
थारु संगठनहरुसँग भएको ६ बुँदे, १० बुँदे र १३ बुँदे सहमति कार्यन्वयनका लागि पनि मोर्चाले माग गरेको छ। थारु, आदिवासी, जनजातिहरुको पर्वको विदा कटौती भएको भन्दै बिदा दिनुपर्ने माग पनि उनीहरुले गरेका छन्।
थारुहरुको प्रथाजनित मूल्यमान्यताहरुलाई कानुनी मान्यता दिनुपर्ने पनि मोर्चाको माग छ। थरुहट भूगोलमा रहेका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ भने प्रशासनिक क्षेत्रमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग गरिएको छ। पत्रकार सम्मेलनमा मोर्चाका संयोजक लक्ष्मण थारुले आफुहरुको जायज माग पुरा नभएसम्म आन्दोलन गर्ने चेतावनी दिए। उनले टिकापुर घटनाको वास्तविकता आफुहरुले जान्न पाउनुपर्ने तर्क गरे।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १४ गते प्रधानमन्त्री तथा नेताहरुलाई १५ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र दिने, माघ १५ गतेदेखि प्रचारप्रसार गर्ने कार्यक्रम छ। माघ मसान्तसम्म समितिहरु गठन गर्ने, १८ गते धनगढीमा अन्तरक्रिया गर्ने, २४ गते कूटनीतिक नियोगहरुलाई जानकारी गराउने र २५ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने जनाइएको छ। पहिचान पक्षधरहरुसँग सहकार्य गर्ने र फागुन १ बाट कैलालीको धनगढीमा आमरण अनसन बस्ने र काठमाडौंमा पनि अनसन गर्ने जनाइएको छ।