प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो। अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाउन भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
सभामुखमा उम्मेद्वारी दिएका सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा छ। २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ। उनको मुद्दासंवैधानिक इजलासले हेरिरहेको छ।
द्वन्द्वपीडित र नागरिक समाजले व्यक्ति हत्याका आरोपीलाई सभामुख बनाएर द्वन्द्वपीडितलाई अपमानित नगर्न माग गरेका छन्।
यसैबीच, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखमा एक्लो उम्मेद्धवार दिएका सांसद अग्नि सापकोटाको विरोधमा माईतीघरमा जुलुस निकाल्नु र विरोध प्रदर्शन गर्नुको कुनै औचित्य नभएको बताएका छन्।
बुधबार माइतीघरमा सापकोटाबिरुद्धको नागरिक खबरदारीप्रति टिप्पणी गर्दै नेकपा अध्यक्ष दाहालले यस्तो टिपपणी गरेका हुन्।
खुमलटारस्थित निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले पार्टीले निर्णय गरेर उम्मेद्वारी दर्ता समेत भइसकेको अवस्थामा विरोध गर्नुको कुनै औचित्य नभएको बताएका हुन्। जाडोमा माईतीघरमा उफ्रिएर केही नहुने भन्दै दाहालले सापकोटा सभामुखको साझा उम्मेद्धवार भएको र अब विरोध गर्नु औचित्यहीन भएको दाबी गरे।