नेपाली कांग्रेसभित्र उत्पन्न विवादको समाधान खोज्न सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच अहिले छलफल भइरहेकाे छ।सभापति देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजेदेखि भइरहेकाे छलफलमा कार्यदलका संयोजकहरुसमेत सहभागिता रहेकाे छ।
संस्थापन पक्षका कार्यदलका संयोजक उपसभापति विमलेन्द्र निधि राष्टिय सभा चुनाबको सिलसिलामा गृहजिल्ला धनुषामा भएका कारण महामन्त्री पूर्णबहादुर खड्का सहभागी हुने बताइएको छ। यसैगरी पौडेल पक्षीय कार्यदलका संयोजक प्रकाशमान सिंह र पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौला छलफलमा सहभागी हुदैछन्।
पौडेल पक्षले पुस ११ गतेको केन्द्रीय कार्य समिति बैठक बहिष्कार गरेपछि सभापति देउवाको निवासमा पौडल, सिटौलासहितको बैठक गत पुस २७ गते बसेको थियो। बरिष्ठ नेता पौडेल उपचारका लागि नयाँदिल्ली जानुअघि बसेको बैठकमा कार्यदलले अनौपचारिक छलफल गरी समस्या समाधानको पहल गर्नेबारे कुराकानी भएको थियो।
त्यसपछि उपसभापति निधिकै कार्यकक्षमा सिहं, सिटौलासहितको प्रारम्भिक छलफल भएको थियो। पछिल्लो समय माघ ५ गते बसेको कार्यदलको बैठकमा नेताहरूबीच तत्काल सहमति निर्माण गरी अघि बढ्ने बिषयमा छलफल भएको थियो।
सो अनौपचारिक बैठकमा १४ औं महाधिबेशन, बिभाग गठन, नेविसंघ र तरुण दल चारवटै बिषयमा नेताहरुबीच छलफल भएको थियो। नेताहरुबीच २०७७ फागुन ७ गतेका लागि तोकिएको पार्टीको १४ औं महाधिबेशन कायम गरी अन्य बिषयमा छलफल गरी अघि बढ्ने अनौपचारिक सहमति भएको थियो।
बैठकमा महाधिबेशनको कार्यकतालिका समायोजन र क्रियाशील सदस्यता बितरण तथा निलम्बन गरिएका धाराका बिषयमा नेताहरु समझदारीको नजिक पुगेको बताइएको छ। नेविसंघ र तरुण दलका गठनका बिषयमा लामै छलफल भएको थियो।