नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बर्तमान सरकार देशमा तानाशाही व्यबस्था लाद्न उद्यत रहेको बताएका छन्।
सिरहाको सुखीपुर वडा नम्बर ५ लडकन्हा हनुमाननगरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निधिले सरकारले लोकतन्त्र मास्ने गरी विधेयकहरु ल्याएको उल्लेख गरे। सरकार लोकतन्त्रको दियो निभाउन खोज्दै गरेको भन्दै उनले लोकतन्त्र जोगाउन सम्पूर्ण नेपाली एकजुट हुने बेला आएको बताए।
कम्युनिष्ट नेतृत्वको सरकारले विभिन्न कानुन बनाएर नागरिक हक र स्वतन्त्रतामा बन्देज लगाउने तयारी गरिरहेको भन्दै निधिले लोकतन्त्रको रक्षाका लागि सबै नेपाली सचेत हुन आग्रह गरे।
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित पार्ने गरी सरकारले मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक ल्याएको भन्दै उपसभापति निधिले लोकतन्त्रविरोधी क्रियाकलाप कुनै हालतमा मान्य नहुने बताए।
निधिले पार्टीको १४ औं महाधिवेशनको तयारी भइरहेको जानकारी गराए। उनले पार्टीभित्र देखिएको मतभेद चाँडै अन्त्य हुने दाबी गरे।