नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ। युनियनको आज चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन्। एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। हालसम्म ७० शाखामा अधिवेशन भइसकेको छ। बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए। बाँकी १५ शाखाको अधिवेशन तथा बाँकी रहेको शाखाको सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ ।
महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले जानकारी दिए। अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ।
बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ। नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। युनियनको आठौँ राष्ट्रिय महाधिवेशन विसं २०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।